जलवायु प्रदूषणको चपेटामा विश्व

Share

भेनेजुयलाले गुमाए जस्तै नेपालको पनि हिमनदी विलिन हुन सक्ने संकट छ। इसिमोडको सन् २००९ को तथ्यांकअनुसार नेपालसँग १ हजार ४ सय ६६ वटा हिमताल छन्। जसमा तत्कालीन अवस्थामा २४ हिमताल खतराको अवस्थामा छन्। तथ्यांकलाई मात्र आधार मान्ने हो भने नेपाल सरकारसँग यो १५ वर्षमा हिमतालको अवस्था तथा यसको प्रणालीमा के कस्तो फेरबदल भयो भन्ने लेखाजोखा छैन।

त्यस्तै पछिल्लो दुई वर्षदेखि काठमाडौंको वायु प्रदूषणले भयंकर रूप लिएको छ। नेपालको राजधानीले पटक–पटक विश्वमञ्चमा वायु प्रदूषणको उच्च रेकर्ड कायम गरेको छ। यसले मानव स्वास्थमा ठूलो असर पारेको छ। स्टेट अफ ग्लोबल एयर २०२४ को ताजा तथ्यांक हेर्ने हो भने विश्वमा ५ वर्षमुनिका बालबालिकाको मृत्युको दोस्रो ठूलो कारण वायु प्रदूषण हो।

जलवायु परिवर्तनले तराई मधेसको भूमिलाई मरुभूमिमा रूपान्तरण गरिरहेको छ। मधेसको उर्वर खेती भूमिगत र वर्षामा आधारित छ। तर, मौसम चक्रमा देखिएको प्रतिकूलताले अन्नको भण्डार मधेस प्रताडित भएको छ। कुनै समय भारत खाद्यान्न निर्यात गर्ने मधेस र देश पछिल्लो दशकयता आयातमा निर्भर छ। जसको प्रत्यक्ष कारण जलवायु परिवर्तन हो। पानीको दाता चुरेमाथि मानव हस्तक्षेप तथा सरकारको मौनताका कारण मधेसको जलस्रोत थप चिन्ताजनक अवस्थामा पुगेको छ। संघीय सरकारले चुरेबारे नीति तथा कार्यक्रममा उल्लेख गरे तापनि व्यावहारिक रूपमा चुरे संरक्षणमा उपलब्धि हासिल भने हुन सकेको छैन।

यसैबीच हामीले चुरे विनाशलाई रोक्न र तराई मधेसमा रहेको प्लास्टिक प्रदूषणलाई न्यूनीकरणका लागि स्थानीय र प्रदेश सरकारलाई विभिन्न कार्यक्रमबाट खबरदारी गरिरहेका छौं। साथै काठमाडौंको हकमा ‘हावा बदलौं’ अभियानमार्फत सरकारलाई वायु प्रदूषण रोकथामका लागि वायु प्रदूषण मापन यन्त्रको व्यवस्थापन र मिडियाको माध्यमबाट जनमानसमा जानकारी उपलब्धता गराइरहेका छौं।

(उप्रेती कायापलटका संस्थापक तथा जलवायु अभियन्ता हुन्। )

Author

  • Diwakar Uprety, a graduate student, campaign advocate and writes and acts on contemporary issues.

Diwakar Uprety

Diwakar Uprety, a graduate student, campaign advocate and writes and acts on contemporary issues.