एक पत्रकारले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सोधे, “तपाईं किन सुट लगाउनुहुन्न? के तपाईंसँग सुट छैन?”
यो प्रश्न दक्षिणपन्थी मिडिया नेटवर्क Real America’s Voice का संवाददाता ब्रायन ग्लेनले सोधेका थिए।
हेर्दा, प्रश्न सामान्य वा गिज्याउनकै लागि गरिएको लाग्न सक्छ। तर, सन् २०१४ देखि जारी युद्धका कारण जेलेन्स्कीको पहिरन मात्र नभई उनको सम्पूर्ण छवि नै पश्चिमी प्रचारको एउटा उपकरणजस्तै बनेको छ। रसियाले निरन्तर युक्रेनी भूमि र जनतामाथि आक्रमण गरिरहेका बेला उनले कुनै पनि कूटनीतिक भ्रमणमा स्मार्ट वा औपचारिक पोशाक लगाउने गरेका छैनन्। उनले यो युद्ध नसकिएसम्म आफू साधारण रहिरहने घोषणा गरिसकेका छन्।
तर, जेलेन्स्कीको पोशाकभन्दा महत्वपूर्ण प्रश्न उनको निर्णय र स्वतन्त्रताको हो। युक्रेन केवल आफ्नो आन्तरिक कारणले मात्र युद्धमा छिरेको होइन, बरु यो युद्ध अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको एउटा प्रयोगशाला बनिसकेको छ। पश्चिम, विशेषतः अमेरिका, युक्रेनलाई युद्धको एउटा मोहरा बनाएर आफ्ना स्वार्थ पूर्ति गर्दै छ। अहिले पश्चिमी मिडिया, विशेषतः दक्षिणपन्थी धारका समाचार माध्यमहरू, जेलेन्स्कीको पोशाकलाई ट्रम्पको सम्मान गिराउने विषयका रूपमा प्रस्तुत गर्दैछन्। तर, वास्तविकता के हो भने, युक्रेनको निर्णय अमेरिकाको राजनीतिक स्वार्थभित्र कैद भइसकेको छ।
अमेरिकी रणनीति : द्वन्द्व सुल्झाउने कि भड्काउने?
केही घण्टामा विकसित भएको अन्तर्राष्ट्रिय राजनीतिक परिदृश्य (International Political Scenario) ले एउटा महत्त्वपूर्ण प्रश्न उब्जाउँछ— अमेरिका द्वन्द्व भड्काउन माहिर छ, समाधान गर्न होइन।
उसको रणनीति धम्की र शक्ति प्रदर्शनको आधारमा कहिले द्वन्द्व उक्साउने, कहिले शान्ति वार्ताको नाटक गर्ने प्रवृत्तिमा आधारित देखिन्छ।
कहिले एउटा देशलाई मिलियन डलरको सहायता दिने, त कहिले प्रत्यक्ष वा अप्रत्यक्ष हस्तक्षेप गर्ने जस्ता रणनीति कुनै नयाँ कुरा होइन। तर, यस्तो नीति युक्रेनी जनताको स्वाभिमानमाथि कठोर प्रहार सावित भइरहेको छ। अमेरिका आफूलाई लोकतान्त्रिक देखाउने प्रयत्न गर्छ, तर उसको सम्पूर्ण नीति नाफा-घाटाको गणनाभन्दा बाहिर गएको देखिँदैन।
लोकतन्त्रको स्थायित्वका लागि शक्ति पृथकीकरण (Separation of Powers) को सिद्धान्त अपरिहार्य छ।
राजनीतिक स्वतन्त्रताको रक्षा तभी सम्भव छ, जब शासनका विभिन्न निकायहरूले मर्यादित रूपमा आ-आफ्ना कर्तव्यहरू सम्पादन गर्छन्।
शक्ति पृथकीकरणको अरु सार मध्ये एक हाे, कुनै निकायले अर्को निकायको अधिकार क्षेत्रमा हस्तक्षेप गर्न नपाओस्। शक्ति प्राप्त भएपछि त्यसको दुरुपयोगको सम्भावना पनि उत्तिकै रहन्छ।
यस सन्दर्भमा कौटिल्यको उक्ति विशेष मननयोग्य छ :
‘अपिशक्या गतिर्ज्ञातुं
पतताम् खे पत्र-त्रिणाम् ।
नतु प्रच्छन्न भावानाम्
मुक्तानां रचतां गतिः।।
अर्थात् आकाशमा उड्दै गरेको चराको गति अनुमान गर्न सकिन्छ, तर राज्यका सञ्चालकहरूको आचरण अनुमान लगाउनु कठिन हुन्छ । यसमा चाणक्यको थप भनाई छ- ‘मनुष्यको स्वभाव घोडाजस्तै हुन्छ, जबसम्म उसलाई जोतिँदैन, तबसम्म शान्त र संयमित देखिन्छ, तर जोत्ने बित्तिकै वा अधिकार प्राप्त गर्ने बित्तिकै उसले चञ्चलता र महत्त्वाकांक्षा प्रदर्शन गर्न थाल्छ । त्यसैले राज्याधिकारीहरूलाई सन्तुलनमा राख्न केही निषेध र बर्जनाहरू राख्नैपर्छ।’
यही कुरालाई जेलेन्स्कीले पहिलो चरणमा अमेरिकी स्वार्थलाई सम्मान गर्दै देखाएका थिए। तर, अहिले आएर ट्रम्पले रसियाप्रति देखाएको पक्षपात (favoritism) ले अमेरिकाको असली रुचि स्पष्ट बनाइदिएको छ।
अन्तत : जेलेन्स्कीको पहिरनभन्दा गम्भीर प्रश्न यो हो, के युक्रेन आज पनि आफ्नो स्वतन्त्र अस्तित्वको रक्षा गर्न सक्छ ? कि ऊ अमेरिकी नीतिहरूको एउटा खेलौना मात्र बनेर बाँकी रहन्छ ?



