जनकपुरमा दसैँको रमझम छ । जनक चोक पुगेको मैले काँधभरि कार्यालयको भारी छेवैको चिया पसलमा बिसाएँ । त्यहाँको रमझमले बालापन सम्झायो । झिलीमिली रोटे पिङ देखेर को नै आकर्षित नहोला र ? म पनि साथीको साथमा पिङको मज्जा लिन दौडिएँ । मिथिलाको मौलिकता नै फरक छ । छेउमै ठेलामा मःम:, चाउमिन, पानीपुरी र अन्य परिकार छन् । ठूलो जमातले उपभोग गर्दै छन् । मानिस नयाँ लुगासँगै दर्शन र मनोरञ्जनमा इन्जोइ गरिरहेका छन् । भिड क्रमश: बढ्दै छ ।
भिड छिचोलेर त्यहाँसम्म पुग्नु सहज भने छैन । जसोतसो भिड छिचोल्यौँ । अगाडि बढ्यौँ । पछाडिको ठेलमठेलले रेल गाडीजस्तै हुत्तै राम मन्दिरसम्म पुर्यायो । त्यसपछि केही बेर अडियौँ । लामो सास फेर्यौँ । ‘बल्ल पार गरियो यार,’ साथीले स्वाँ–स्वाँबीच नै राहत महसुस गरेझैँ भन्यो ।
हाम्रो यात्रामा अझै केही मिटर दूरी बाँकी छ । त्यो भिडले फेरि धकेल्दै छ । हुत्याउँदै छ । नभन्दै हामी राम मन्दिरभित्रको खेल अखाडामा पुग्यौँ । अब राहत भयो ।
तर, राहतको यात्रा त त्यति बेला हुनेछ, जब हामीले सयौँ सहयात्रीलाई लामबद्ध लाइनबाट छिचोल्दै त्यो रोटे पिङमा पुग्छौँ, तब ताजुब लाग्नेछ । मैले भनेँ, ‘यात्राको पहिलो अंश यही हो । यो भिड चुनौती हो । यात्रा यहीँ रोक्ने कि अगाडि बढ्ने, हाम्रो हातमा छ ।’
निस्फिक्री हाम्रो यात्रालाई उचाइमा लग्न र सम्भव तुल्याउनका लागि पहिलो मानक लाइन छिचोल्नु नै हो । हामीले २०० रुपैयाँको टिकट काट्यौँ । अनि लाइन लाग्यौँ ।
०००
भिड अचाक्ली बढ्दै छ । चारकुने राम मन्दिरको सानो फिल्डमा ब्रेक डान्सको कार कुदिरहेको छ बेफिक्री । उसले यात्रीलाई कराउन बाध्य तुल्याएको छ । अर्कातिर स–साना बालबालिकाका लागि घोडाले बल दिँदै छ । तर, घोडाको बलभन्दा पर्तिर रहेको मोटरसाइल रेसले जेनेटरको मुस्लोमा बालबालिकालाई मनोरञ्जन गराइरहेको छ । त्यसको दाहिने साइडमा रहेको रेलले बालबालिकालाई आकर्षित गर्न आफू लक्ष्यमा पुगेको हर्न बजाउँदै छ, मानौँ– त्यसले जयनगरदेखि जनकपुरको यात्रा सफल गरिसक्यो ।
अझै हाम्रो लाइन अघि सरेको छैन । मानिसको भिडले लाइन ब्रेक गर्दै छ । यहाँ लाइनमा बसेर पालो कुर्नेभन्दा पनि लाइन मिचेर अगाडि बढ्नेले संर्घष हात पार्ने देखिन्छ । लाइन अब अगाडि बढ्यो । क्रमश: हामी टिकट देखाउने निराश व्यक्तिकहाँ पुग्यौँ । उसको मुहारमा रस छैन । ऊ निरस देखिन्छ । थकित छ । ऊ बारम्बार भिडलाई भन्दै छ, ‘लाइनमे बैठुन यौँ ।’ (लाइनमा बस्नुस् न है ।) अर्कातिर डीजेले मौलिकतामा बल पुर्याइरहेको छ । बोलेको आवाजभन्दा रोटे पिङको जेनेरेटर थप बलियो छ । जेनेरेटरले छिचोलेको त्यो डीजेको ध्वनिलाई माथ दिँदै एक जना अधबैँसे माडसाहेबले हाम्रो लाइन मिच्दै हुनुहुन्छ । हामी बेचैन मुद्रामा ती निरस टिकट चेकरलाई हेर्दै छौँ । उसको बातलाई माथ दिँदै ती अधबैँसेले लाइन मिचिछाडे । हामी पछि पर्यौँ ।
त्यहाँ ती अधबैँसे मात्र मिच्नेमा थिएनन् । र, पछि पर्नेमा हामी मात्र थिएनौँ । हामीपछिका अझै केही दर्जन त्यो रोटे पिङको लक्ष्यबाट पछि पर्यौँ । तर, ताजुबको कुरा के भने, ती अधबैँसेले आफू मात्र नभई छोरा, बुढी र आफू गरी लाइन मिचेर अगाडि बढ्दा आफूलाई कठोर सम्झिए । मानौँ, अब तिनी त्यो रोटे पिङ आफू फस्ट भएको अंक लिएर सयर गर्नेछन् । र, रोटे पिङको टुप्पोमा पुगेर त्रासबीच भन्नेछन्, ‘मैले लाइन मिच्दा फस्ट भएँ ।’
उनी त्यो लाइनमा प्रथम त भए तर जीवनको यात्रा सुरु गरिरहेका ती बालकलाई लास्ट बनाए । हामी ती निरस टिकट चेकरलाई हेर्दा अधबैँसेको छोराको अवोध चेहरामा ढाडस छाएको थियो । मानौँ, त्यो बालक भन्दै छ, ‘हेर्यौ मेरा बाको शक्ति ! हामी फस्ट भयौँ ।’
मिच्याइँ नै सफलताको कडी हो । जसले मिच्यो उसले जित्यो । तर, क्षणिकताको जितमा रमाउने उसले जीवनका हरेक शुभअवसर गुमाउन बाध्य हुनेछ । कारण संस्कारले पनि त सभ्यता र व्यवहार झल्काउँछ ।
ती अधबैँसे जीवनको उत्तरार्द्ध क्षणमा छन् । जीवनको लगभग पचास दशक छिचोलेका उनले प्रथम हुन लाइन मिचेजस्तै हरेक थोक मिच्नुपर्छ भन्ने भाव झल्काइरहे । मानौँ, अधबैँसेले सिकाउँदै छन्, ‘छोरा जीवनमा प्रथम भनेकै अरुको परिश्रम मिच्नु हो । परीक्षामा चिट चोर्नु हो । नमाने धम्क्याउनु हो । तर्साउनु हो ।’ यस्तै यस्तै… ।
अधबैँसेसहित उसको परिवार रोटे पिङमा सयर गर्न अण्डा आकारको गोलो भाँडामा पसे । अब उनीहरूलाई लिभरमा लागेका तीन चक्काको बलमा जेनेरेटरको मुस्लोसँगै पिङको सयर राइडर दाइले गराउनेछन् । अबोध चेहरामा हर्ष मात्र रहनेछ । बालकले गुरुले भनेको ‘स्ट्यान्ड इन क्यू एण्ड बेट फर योर टर्न ।’ ज्ञान भुल्नेछ । किनकि उसले घरको मूलीबाटै जीवनको लाइन मिच्न सिकेको अनुभूति गरिसकेको छ ।
हामी पछि परेका पछाडि नै छौँ । उसको सयरले सिकाएको पाठमा हामी यसरी अल्झिएछौँ कि हामीभन्दा केही मानिसहरूले पर्खन र पालो कुर्ने संस्कार बिर्सेको वर्षौं भएको अनुभूति दिलाइरहेका थिए । लामबद्ध लाइनमा होहल्ला सुरु भएको छ । ‘देखूँदेखूँ बिचेमे धुस्लै !’ यो आवाज हाम्रो टर्नसम्म यसरी गुञ्जियो कि मानौँ, भिडले केही पिङ यात्रीहरूलाई धैर्यता र क्रमसंख्याको पाठ पढाइरहेको छ ।
अधबैँसेको पालो तीन फन्कोमा सकियो । अधबैँसेको मुहारमा थप जितको हर्ष छाएको छ । तर, पछि परेका केही मानिसहरूले संस्कार भुलेको जाहेरी लाइनका अन्यलाई बताइरहेका छन् । अबोध बालक दाहिने हातमा भिक्ट्रीको साइन देखाउँदै जितको श्रेय अधबैँसेलाई बाडिँरहेको छ ।
बालक भनिरहेको छ, ‘हम किसि से डरते नहीं, जहाँ से हम खडे होङ्गे ओहीं से लाइन सुरु होता हे…।’
उसले पहिलो पाठ नै गलत अभ्यास गरिसकेको छ । निरस टिकट चेकर गुञ्जिरहेको तँछाडमछाड भिडलाई निराश हुँदै शान्त बस्न अपिल गरिरहेको छ । सुक्खा आवाजमा धमिलोपन मिस्सिन थालेको छ । उसले संस्कार सिकाउन आफू हारिरहेको छ ।
उसको हारलाई म र साथीले अण्डा आकारको भाँडोमा बसेर मेसो पाए पनि दर्जनौँ मानिसकहरू ऊसँग क्रोध साटिरहेका छन् । तर, अधबैँसेजस्तै केही मानिसहरूको असंस्कारीपन र बलमिच्याइँले गर्दा निरस टिकट चेकरको पटकपटक आवाज सुकिरहेको छ ।
हाम्रो पालो आए पनि हामीभन्दा अगाडि पुगेको अधबैँसे माडसा’बले जनकपुरमा देखाउनुभएको बलमिच्याइँ यो पढ्ने पाठकका लागि सामान्य भए पनि कहिलेकाहीँ हतार र धैयर्ता बिर्सिंदा आफ्नाले भुल्दै जाने संस्कार ख्याल गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु ।
त्यो अबोध बालक कुनै दिन रोटे पिङको सफरमा एक्लै निस्कियो र बुबाको हातभन्दा आफ्नो खुट्टामा उभियो भने ऊ यसरी नै हैकम जमाउनेछ । उसले सम्मान संस्कारलाई ग्रहण गर्न बिर्सनेछ । र, ऊ त्यही गर्नेछ, जुन उसका बाले सिकाएका छन् । मिच्याइँ नै सफलताको कडी हो । जसले मिच्यो उसले जित्यो । तर, क्षणिकताको जितमा रमाउने उसले जीवनका हरेक शुभअवसर गुमाउन बाध्य हुनेछ । कारण संस्कारले पनि त सभ्यता र व्यवहार झल्काउँछ ।
प्रकाशित शिलापत्र




